भक्तपुर । भक्तपुरको मध्यपुरथिमिस्थित बोडेमा जिब्रो छेड्ने जात्रा बुधबार मनाइएको छ । जात्रामा स्थानीय सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका छन् । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थीत मञ्चमा सुजन बागको जिब्रो छेडिएको हो ।
नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५१ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले तीन वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौपटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेड्ने चलन छ ।