काठमाडौँ । नेपालको कुटनीतिक सफलता स्वरूप संयुक्त राष्ट्रसंघले मान्यता दिएपछि बुधबार (२ वैशाख÷अप्रिल १५) विश्वभर पहिलो पटक ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइएको छ। काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहका बीच यो दिवस मनाइएको हो।
समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलले आरोग्य पर्यटनलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ आगामी वर्ष ‘नेपाल आरोग्य वर्ष २०२७’ मनाउने घोषणा गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले आरोग्यको अवधारणालाई केवल रोगको अभावका रूपमा मात्र नभई समग्र मानव जीवनको भौतिक, मानसिक र आध्यात्मिक सन्तुलनका रूपमा बुझ्नुपर्ने बताए ।
सभामुख अर्यालले भने, “विश्वमा बढ्दो द्वन्द्व, जलवायु संकट र मानसिक तनावका बीच आरोग्य मानवताका लागि आशाको किरण हो। नेपालका हिमाल, पवित्र नदी र प्राचीन योग परम्पराले हामीलाई विश्वकै प्रिमियम आरोग्य गन्तव्य बन्न सक्ने आधार दिएका छन्।” उनले आरोग्यलाई विश्वव्यापी प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
पर्यटन मन्त्री खड्क राज पौडेलले विश्वमा एक अर्बभन्दा बढी मानिस मानसिक तनावबाट प्रभावित रहेको उल्लेख गर्दै आरोग्यलाई जीवनशैलीसँग जोड्नुपर्ने बताए । उनले सरकारले आरोग्य पर्यटनलाई नेपालको ‘सफ्ट पावर’ का रूपमा विकास गर्ने नीति लिएको जानकारी दिए ।
मन्त्री पौडेलले भने, “हामीले यसलाई दिगो विकास, सांस्कृतिक संरक्षण र स्थानीय समुदायको समृद्धिसँग जोड्ने लक्ष्य राखेका छौँ। ‘नेपाल आरोग्य वर्ष २०२७’ ले विश्वलाई नेपालतर्फ आकर्षित गर्नेछ।”
नेपाल सरकारको विशेष प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले गत मार्च १० (फागुन २६) मा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा औपचारिक मान्यता दिएको थियो। नेपालले राष्ट्रसंघमा नेतृत्व लिएर कुनै अन्तर्राष्ट्रिय दिवस घोषणा गराएको यो पहिलो ऐतिहासिक अवसर हो। सोही मान्यता अनुरूप आज नेपालसहित विश्वभर यो दिवस पहिलो पटक मनाइएको हो।