काठमाडौँ । ट्राफिक नियम उल्लंघन गर्ने जो कोहीलाई पनि कानुनी कारबाही हुन्छ भन्ने उदाहरण ट्राफिक प्रहरीले देखाएको छ। थापाथलीमा ट्राफिक नियम उल्लंघन गरी हिँडेको सभामुख डोलप्रसाद (डीपी) अर्यालको गाडीलाई प्रहरीले सिंहदरबारभित्रै पुगेर चिट काटेको हो।
थापाथलीस्थित सडकमा लेन क्रस गरेर नियम मिचेको सभामुखको गाडीसहित उन्को सुरक्षामा खटिएका अगुवा र पछुवा गरी तीनवटै सवारी साधनलाई ट्राफिकले कारबाही गरेको छ।थापाथलीमा नियम उल्लंघन गरेर सभामुखको गाडी सिंहदरबार प्रवेश गरिसकेको थियो। तर, ट्राफिक प्रहरीले उक्त सवारीलाई पछ्याउँदै सिंहदरबारस्थित संसदीय दलको कार्यालय नजिकै पुगेर चिट काटेको हो।
सभामुख अर्यालको गाडीले थापाथली खण्डमा ’लेन क्रस’ गरी ट्राफिक नियमको धज्जी उडाएको देखिएको थियो। कारबाहीको समयमा सभामुख गाडीभित्र सवार हुनुहुन्थ्यो वा हुनुहुन्नथ्यो भन्नेबारे प्रहरीले आधिकारिक जानकारी दिएको छैन। यद्यपि, विशिष्ट व्यक्तिको सवारी भइरहँदा समेत नियम मिच्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यो कदम चालिएको प्रहरीको भनाइ छ। सभामुख अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गर्र्छन् । हालैका दिनहरूमा रास्वपाका मन्त्री र नेताहरूले ’थिति बसाल्ने’ दाबी गरिरहँदा स्वयम् सभामुखकै गाडी कारबाहीमा पर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।