काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको खाजामा नै किरा भेटिएको घटना बाहिर आएको छ । वनस्पति विभागको ६६ औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी मन्त्री चौधरीको खाजाको प्याकेटमा किरा भेटिएको हो ।
बबरमहलमा रहेको बागमती स्विट्स प्रालिबाट खरिद गरी ल्याइएको ड्राइफ्रुट्स खाजाको प्याकेटमा किरा भेटिएपछि मन्त्री चौधरीले तत्काल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई सो मिठाई पसलमा अनुगमन गर्न निर्देशन दिएकी थिइन् ।
खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको संयुक्त टोलीले विशेष अनुगमन ग¥यो । अनुगमनका क्रममा उक्त स्विट्स प्रालिले मिठाई उत्पादन गर्दा लापर्बाही गरेको पाइएपछि उत्पादन र बिक्रीवितरणमा तत्कालका लागि रोक लगाएको छ ।