पोखरा । पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने यात्रुहरूको सुविधाका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर महानगरले विमानस्थलदेखि अमरसिंह चोकसम्म चल्ने गरी सुविधासम्पन्न इलेक्ट्रिक सटल बस सेवा सुरु गरेको हो।
महानगर प्रमुख धनराज आचार्यका अनुसार यो सेवा आगामी असार मसान्तसम्म पूर्ण रूपमा निःशुल्क रहनेछ। वैशाख १ गते दिउँसो ३ बजेदेखि औपचारिक रूपमा सुरु भएको यो सेवा महानगरको ’पाइलटिङ’ कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो। विभिन्न वित्तीय संस्था र मोटर सञ्चालन कम्पनीहरूको साझेदारीमा महानगरले यस किसिमको यातायात व्यवस्था मिलाएको हो।
विमानस्थलबाट बाहिरिने यात्रुहरूले ट्याक्सी सेवा महँगो भएको र भरपर्दो विकल्प नभएको गुनासो गरिरहेका बेला महानगरको यो कदमले राहत दिने विश्वास गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले यो सेवालाई नियमित बनाउन सके आम सर्वसाधारण र पर्यटकहरू अझ बढी लाभान्वित हुने र यसलाई पृथ्वीचोकसम्म विस्तार गर्नुपर्नेमा जोड दिएकी छिन्।
स्थानीय र पर्यटकहरूले पनि महानगरको यस प्रयासलाई सकारात्मक रूपमा लिँदै यसलाई अल्पकालीन नभई दीर्घकालीन रूपमा निरन्तरता दिन सुझाव दिएका छन्। हालका लागि यो सेवाले विमानस्थल र मुख्य सहरी क्षेत्र जोड्ने पुलको काम गर्ने अपेक्षा गरिएको छ।