धनगढी । सुदूरपश्चिमको कैलाली, गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको अध्यापन सुरु गर्ने तयारी गरेको छ। विश्वविद्यालय सभाको चौथो बैठकले चिकित्सा शिक्षा सञ्चालनसँग सम्बन्धित ६ वटा महत्त्वपूर्ण नियमावली पारित गरेसँगै कानुनी रूपमा पठनपाठनको बाटो सहज भएको हो। लामो समयको पर्खाइपछि आफ्नै क्षेत्रमा डाक्टर र नर्स बन्ने सपना देख्ने सुदूरपश्चिमेली विद्यार्थीहरूका लागि यो निर्णयले नयाँ ढोका खोलेको छ।
विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगसँग ५० सिट एमबीबीएस, ३० सिट बीएससी नर्सिङ, २० सिट मेडिकल ल्याब टेक्नोलोजी र २० सिट बीएससी अप्टोमेट्रीका लागि सिट माग गर्दै निवेदन दिइसकेको छ। आयोगबाट अनुमति प्राप्त हुनासाथ पठनपाठन सुरु गर्ने तयारीमा रहेको विश्वविद्यालयले गत फागुनमै २६ जना प्राध्यापक र ५१ जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरिसकेको छ। हाल फिजियोलोजी, प्याथोलोजी, सर्जरी र एनेस्थेरियोलोजी जस्ता महत्त्वपूर्ण विभागहरूमा दक्ष जनशक्ति भर्ना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उपकुलपति प्रा.डा. सुनीलकुमार जोशीले जानकारी दिएका छन्।
भौतिक पूर्वाधार र वित्तीय व्यवस्थापनका लागि सुदूरपश्चिम सरकारले गेटा अस्पताललाई ३०० शय्यामा स्तरवृद्धि गर्ने प्रक्रिया अघि बढाएको छ। आगामी आर्थिक वर्षका लागि अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालन गर्न २ अर्ब ५८ करोड रुपैयाँ बजेट माग गरिएको छ भने छात्रवृत्ति कोटाका लागि समेत बजेट सुनिश्चित भइसकेको छ। २०८० कात्तिकदेखि नै अस्पताल सेवा सुरु भइसकेको यस केन्द्रले पूर्ण रूपमा शैक्षिक कार्यक्रम थालेपछि आर्थिक रूपमा विपन्न तर जेहेन्दार विद्यार्थीहरूले सुलभ रूपमा उच्च शिक्षा पाउने अपेक्षा गरिएको छ।