काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ वर्षको अवसर पारेर आजदेखि सहरमा रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याएको छ। साझा यातायातसँगको सहकार्यमा सुरु भएको यो सेवाका बारेमा कार्यवाहक मेयर सुनिता डंगोलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै राति ८ बजेदेखि ११ बजेसम्म बसहरू सञ्चालन हुने बताएकी छन्।
प्रारम्भिक चरणमा दुई वटा रूट निर्धारण गरिएका छन्, जसमा बुढानीलकण्ठदेखि लगनखेल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि थानकोटसम्म बस चल्नेछन्। यी दुवै रूटमा यात्रुहरूले प्रत्येक २० मिनेटको अन्तरालमा बस सेवा प्राप्त गर्न सक्नेछन्।
सेवालाई सुरक्षित र व्यवस्थित बनाउन महानगरले विशेष प्रबन्ध गरेको छ। सुरुवाती चरणमा ७ वटा बसबाट सेवा सुरु गरिने र प्रत्येक बसमा सुरक्षाका लागि एक जना नगर प्रहरी अनिवार्य रहने व्यवस्था गरिएको छ।
यस्तै, सुरक्षा र निगरानीका लागि हरेक बसमा चार वटा सीसीटीभी क्यामरा जडान गरिएका छन्, जसले बसको अगाडिको भाग, चालक र यात्रुहरूको गतिविधि कैद गर्नेछन्। यी क्यामराहरूको निगरानी सिधै महानगरको नियन्त्रण कक्षबाट हुने भएकाले यात्राका क्रममा सामान छुटेमा प्राप्त गर्न सहज हुने र कुनै पनि प्रकारका दुव्र्यवहार भएमा तत्कालै नियन्त्रणमा लिन सकिने विश्वास लिइएको छ। यो रात्रिकालीन बस सेवा काठमाडौँ महानगरसँगै ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको संयुक्त सहकार्यमा सञ्चालन गरिएको हो।