काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको आदर्शप्रति मन, बचन र कर्मले निष्ठावान रहन देशवासीलाई आह्वान गरेका छन्।
नव वर्ष २०८३ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना सन्देश जारी गर्दै उनले मुलुक र नागरिकको हितबाहेक राज्यको अर्को कुनै स्वार्थ हुन नहुने कुरामा जोड दिएका हुन्।
राष्ट्रपतिले जुनसुकै कठिन परिस्थितिमा पनि देशको स्वाधीनता र सार्वभौमिकतालाई झुक्न नदिने दृढ संकल्प गर्न सम्पूर्ण नेपालीलाई अपिल समेत गरेका छन्। नयाँ वर्षलाई विगतको समीक्षा गर्ने र आगामी दिनका लागि नयाँ लक्ष्य निर्धारण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै राष्ट्रपतिले हाम्रा संवत्हरू इतिहास र सभ्यताका अभिन्न अंग भएको उल्लेख गरेका छन्।
यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केवल पात्रो फेरिएको दिनका रूपमा मात्र नलिन आग्रह गरेका छन्। नववर्ष २०८३ को सुखद अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस दिनलाई नयाँ कामको थालनी, सकारात्मक सोचको विकास र स्वस्थ जीवनशैलीका लागि संकल्प गर्ने उत्सवका रूपमा मनाउनुपर्नेमा जोड दिएका हुन्। नयाँ वर्षले व्यक्तिगत जीवनमा अनुशासन र स्थिरता ल्याउने विश्वास उनले व्यक्त गरेका छन्।
यता प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले नयाँ वर्ष २०८३ को अवसरमा सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्दै शुभकामना दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनले शुभकामना दिएका हुन् ।
"सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्, सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्," प्रधानमन्त्री बालेनले शुभकामना दिएका छन् ।
बालेनले सुख, शान्ति र समृद्धिको कामना पनि गरेका छन् । "नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु," प्रधानमन्त्री बालेनले लेखेका छन् ।