ललितपुर । राष्ट्रिय जेन्जी नागरिक अभियानले ’जेन्जी आन्दोलन’ का क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाहरूको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। अभियानले आइतबार राष्ट्रिय मानव अधिकार आयोगलाई एक पत्र बुझाउँदै प्रतिवेदन लुकाइएकोमा आपत्ति जनाएको हो।
गत २०८२ साल भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका गम्भीर घटनाहरूको छानबिन गर्न आयोगकी आयुक्त लिली थापाको संयोजकत्वमा एक समिति गठन गरिएको थियो। सो समितिले प्रतिवेदन तयार पारे पनि हालसम्म सार्वजनिक नगरिएको अभियानको ठहर छ।
आयोगलाई बुझाइएको पत्रमा भनिएको छ, “भदौ २३ र २४ गते भएका घटनाहरू गम्भीर र जघन्य प्रकृतिका छन्। आयोग जस्तो स्वतन्त्र निकायले आफ्नो कार्यप्रणाली पारदर्शी राख्नुपर्छ। प्रतिवेदन पढ्न पाउनु जेन्जी समुदाय र आम नेपालीको अधिकार हो।“
अभियानले उक्त प्रतिवेदनमा कुनै काँटछाँट नगरी ’जस्ताको त्यस्तै’ यथाशीघ्र सार्वजनिक गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत माग गरेको छ। यो घटनाले अन्तर्राष्ट्रिय स्तरमै ध्यान खिचेको भन्दै युवाहरूले आयोगको निष्पक्षतामाथि प्रश्न उठाएका छन्।