डोल्पा । हिमाली जिल्ला डोल्पाको ठूलीभेरी नगरपालिकामा सडक विस्तारका क्रममा डोजर दुर्घटना हुँदा दुईवटा घरमा ठूलो क्षति पुगेको छ । सोमबार बिहान ठूलीभेरी नगरपालिका–६ काँडातालीमा सडक खन्ने क्रममा डोजर अनियन्त्रित भई घरमाथि खसेको हो ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार क्रिस एन्ड क्रिस्टिना निर्माण सेवा मुड्केचुलाको डोजर सडक विस्तार गर्ने क्रममा दुर्घटनामा परेको हो । डोजर पल्टिएर घरमाथि बज्रिँदा स्थानीय दुई दाजुभाइको घरमा क्षति पुगेको छ ।
डोजर दुर्घटना हुदाँ स्थानीय ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ । घरको माथिल्लो भाग भत्किनुका साथै तल्लो तलामा समेत ठूला–ठूला चिरा परेकाले घर बस्न नहुने गरी चर्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रुकबहादुर खड्काले जानकारी दिए ।
सौभाग्यवश, डोजर घरमाथि खसे पनि कुनै मानवीय क्षति भने भएको छैन । दुर्घटनाका समयमा घरभित्र रहेका सदस्यहरू सुरक्षित रहन सफल भएका छन् । डोजर चालक हरि पुन पनि सकुशल रहेको प्रहरीले जनाएको छ ।
क्रिस एन्ड क्रिस्टिना निर्माण सेवाका प्रोप्राइटर दिलीप सिंह ठकुरीका अनुसार दुर्घटनामा डोजरको इन्जिन, अगाडिको भाग र ढोकासहित मेसिनमा पनि ठूलो क्षति पुगेको छ ।
प्रहरीले घटनाको प्रकृति मुचुल्का तयार गरी थप अनुसन्धान गरिरहेको छ भने पीडित परिवारले उचित क्षतिपूर्तिको माग गरेका छन् ।