भक्तपुर । भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक बिस्काः (बिस्केट) जात्रा अन्तर्गत सोमबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह योसिँद्योः’ अर्थात् हात नभएको लिङ्गो ठड्याइएको छ ।
पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा यो विशेष लिङ्गो ठड्याउने परम्परा रहेको छ । उक्त योसिँद्योःको टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ, जसलाई स्थानीयले शुभ संकेतका रूपमा लिने गर्दछन् ।
संस्कृतिविद्हरूका अनुसार मल्लकालमा राज्य र स्थानीय प्रजापति समुदायबीच मनमुटाव भएपछि यो छुट्टै लिङ्गो ठड्याउने प्रचलन सुरु भएको हो । राज्यद्वारा उभ्याइने मुख्य लिङ्गो (योसिँख्यो) भन्दा पहिले नै स्थानीय समुदायले आफ्नै सक्रियतामा यो ‘हात नभएको लिङ्गो’ उभ्याउने परम्परा बसालेका हुन् ।
प्रत्येक वर्ष चैत मसान्तका दिन यो लिङ्गो ठड्याइन्छ भने वैशाख ५ गतेका दिन ढाल्ने गरिन्छ । यो लिङ्गो ढालिएसँगै नौ दिन आठ रात लामो बिस्का जात्राको औपचारिक समापन हुने गर्दछ । नेवार समुदायमा यो लिङ्गो उभ्याउनुको विशेष महत्व रहेको छ । बिस्का जात्राको रौनक भक्तपुरमा उत्कर्षमा पुगेको छ भने लिङ्गो ठड्याएको हेर्न स्थानीय र पर्यटकहरूको ठूलो उपस्थिति रहेको थियो ।