गोरखा । कालोभीरमा खसेको ठूलो सुख्खा पहिरोका कारण सातादेखि ठप्प रहेको बेनिघाट–लार्के सडक खुलाउन वैकल्पिक मार्ग निर्माणको काम सुरु गरिएको छ। धार्चे गाउँपालिकाले स्थानीय दुई जलविद्युत् आयोजनाहरूसँग समन्वय गरी पहिरो पन्छाउने र नयाँ ट्रयाक खोल्ने कार्य थालनी गरेको हो। गत चैत २२ गतेदेखि अवरुद्ध यो सडकखण्ड रणनीतिक र मानवीय दृष्टिले निकै महत्वपूर्ण मानिन्छ।
धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार, बूढीगण्डकी र यारुखोला हाइड्रोपावरका दुईवटा एक्साभेटर प्रयोग गरी काम अघि बढाइएको छ। “साविकको सडकभन्दा केही तल र बूढीगण्डकी नदीको बहावभन्दा केही माथिबाट अस्थायी ट्रयाक निकाल्ने प्रयास भइरहेको छ,“ अध्यक्ष गुरुङले भने, “सबै कुरा सोचेअनुसार भए अबको ५ दिनभित्र सवारी साधन सञ्चालन गर्न सकिनेछ।“
नेपाली सेनाले निर्माण गरिरहेको यो सडकको चालु आर्थिक वर्षको बजेट सकिएको र सडक विभागबाट नयाँ बजेट तथा कार्यक्रम नआएकाले स्थायी रूपमा पहिरो पन्छाउन तत्काल सम्भव देखिएको छैन। पक्की सडक बनाउन महिनौँ लाग्ने भएपछि पालिकाले अल्पकालीन विकल्प रोजेको हो।
उत्तरी गोरखाको चुमनुब्री क्षेत्रका बासिन्दाका लागि यो सडक ’लाइफलाइन’ हो। सडक अवरुद्ध हुँदा निम्तिन सक्ने संकटबारे अध्यक्ष गुरुङ थप्छन ।
“बर्खा अगावै खाद्यान्न र अत्यावश्यक सामग्री ढुवानी गर्न सकिएन भने चुमनुब्रीमा भोकमरी लाग्न सक्छ। विकास निर्माणका काम पनि ठप्प हुने भएकाले हामीले जोखिम मोलेरै भए पनि अस्थायी बाटो खोल्न लागेका हौँ।“
जिल्ला प्रशासन कार्यालय गोरखाले पनि जनजीवन प्रभावित भएको भन्दै यथाशीघ्र सडक सुचारु गर्न पालिकालाई पत्राचार गरेको थियो। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार उत्तरी गोरखाको पहुँचलाई सहज बनाउन प्रशासनले स्थानीय तहसँग निरन्तर समन्वय गरिरहेको छ।
पृथ्वीराजमार्गको बेनिघाटदेखि चीनको सीमाना लार्केभञ्ज्याङ जोड्ने यो सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ। आगामी बर्खाअघि यो वैकल्पिक ट्रयाकले चुमनुब्रीवासीलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।