धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अघि बढाएको ‘सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ। आइतबार बसेको प्रदेशसभा बैठकले उक्त विधेयकलाई आवश्यक छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।
बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गरेकाी थिईन् । सञ्चार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले ल्याइएको यस विधेयकमा अब समितिभित्र विस्तृत छलफल हुनेछ।
बैठकले ‘सुदूरपश्चिम प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई पनि दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाएको छ। मन्त्री सार्कीले नै पेस गरेको उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो।
प्रदेशसभा बैठकले दुईवटा विषयगत समितिमा रहेका सदस्यहरूको कार्यक्षेत्र समेत हेरफेर गरेको छ। सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेस गरेको नामावली हेरफेर सम्बन्धी प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो।