पाँचथर । प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूलाई युट्युबमार्फत अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन्। पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ स्थायी घर भएका पोखरेललाई जिल्ला प्रहरी कार्यालय पाँचथरले आवश्यक परेको बेला उपस्थित हुने शर्तमा आफन्तको जिम्मा लगाएको हो।
पोखरेललाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा गत चैत २६ गते पाँचथरबाटै पक्राउ गरिएको थियो। जिल्ला अदालत पाँचथरले उनलाई अनुसन्धानका लागि १० दिनको म्याद थप गरेको थियो। तर, अनुसन्धानको प्रक्रिया जारी रहँदा उनलाई साधारण तारेखमा जस्तै आफन्तको जिम्मामा छोडिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णले जानकारी दिनुभयो।
युट्युबर पोखरेलको पक्राउलाई लिएर सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन्द्र शाहको चर्को आलोचना भइरहेको छ। अभिव्यक्ति स्वतन्त्रताको विषयलाई लिएर आलोचना गर्नेहरूले प्रधानमन्त्री शाहका पुराना फेसबुक स्टेटस र भिडियोहरू पुनः सेयर गर्दै वर्तमान कदमको विरोध गरिरहेका छन्।