काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा रहेका महँगा स्वास्थ्य उपकरणहरूको अवस्थाबारे १० दिनभित्र विस्तृत प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। मन्त्रालयले एक पत्राचार गर्दै अस्पतालमा जडान गरिएका उपकरणहरू सञ्चालनमा रहे/नरहेको र तिनको गुणस्तर कस्तो छ भन्ने विवरण माग गरेको हो।
मन्त्रालयले विशेषगरी उच्च प्रविधियुक्त र महँगा उपकरणहरूमा केन्द्रित भई विवरण मागेको छ। जसमा एमआरआई, सिटी स्क्यान, क्याथ ल्याब, पेट सिटी स्क्यान लगाएतका विवरण माग गर्न लगाएको छ । मन्त्रालयले उपकरणको अवस्था मात्र नभई प्राविधिक सुरक्षाका मापदण्डबारे पनि कडा प्रश्न सोधेको छ।
मन्त्रालयले यो अभियान वीर अस्पतालबाट सुरु गरे पनि देशभरका सबै सरकारी तथा निजी अस्पतालहरूबाट यस्तो विवरण संकलन गर्ने निर्णय गरेको छ। आवश्यकता अनुसार मन्त्रालयको टोलीले स्थलगत अनुगमन समेत गर्ने पत्रमा उल्लेख छ।
अस्पताललाई प्रतिवेदनसँगै उपकरण व्यवस्थापन र सुधारका लागि आफ्ना सुझावहरू समेत समावेश गर्न मन्त्रालयले आग्रह गरेको छ। वीर अस्पतालमा समय–समयमा उपकरणहरू बिग्रिएर सेवाग्राही मर्कामा पर्ने गरेको गुनासो आउने गरेको पृष्ठभूमिमा मन्त्रालयको यो कदमलाई अर्थपूर्ण मानिएको छ।