बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ हल्दुविनायकबाट सशस्त्र प्रहरीले २१ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका अवैध सामान बरामद गरेको छ। भारतबाट भन्सार छली गरी ल्याउँदै गरिएको अवस्थामा बोलेरो पिकअप र ट्याक्टरसहित रु २१ लाख ८ हजार ८१० बराबरका सामान नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक (म्क्ए) जङ्गबहादुर कुँवरका अनुसार आइतबार बिहान ३ः०० बजेतिर विशेष मोबाइल टोलीले उक्त सामान बरामद गरेको हो। बरामद गरिएका सामग्रीहरूमा २३ क्विन्टल चिनी, ५ क्विन्टल मिश्री र अन्य किरानाका सामान रहेका छन्।
सवारी साधन नियन्त्रणमा सामान ओसारपसारमा प्रयोग गरिएका सुपप्र ०१ ००१ च २७८९ नम्बरको बोलेरो पिकअप र सुपप्र ०१ ००२ त ५०९० नम्बरको ट्याक्टरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी निरीक्षक रमेशप्रसाद पाण्डेयको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा यो कारबाही अघि बढाएको थियो।
डीएसपी कुँवरले भन्नुभयो, “भन्सार छलीका सामान भित्रिँदैछन् भन्ने सूचना पाएपछि हामीले निगरानी बढाएका थियौँ। सोही क्रममा आज बिहान ती सामान फेला परेका हुन्।“ प्रहरीलाई देख्नेबित्तिकै सामान भित्र्याउने व्यक्तिहरू भने फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका सामान र सवारी साधनलाई थप कारबाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइएको छ।