जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा ग्यास लिक भएर आगलागी हुँदा तीन जना गम्भीर घाइते भएका छन् । स्थानीय ठालुप्रसाद जैसीको घरमा आइतबार दिउँसो आगलागी भएको हो । आगलागीमा परी स्थानीय माया जैसी, गणेश गौतम र रूपा जैसी घाइते भएका छन् । उनीहरूको शरीरका विभिन्न भाग जलेको छ ।
घाइतेहरूको अवस्थालाई मध्यनजर गर्दै तत्काल उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरिएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत दीपेन्द्रबहादुर शाहीका अनुसार, नेपाली सेनाको पश्चिम हवाई बेस सुर्खेतबाट आएको हेलिकोप्टरले घाइतेहरूलाई थप उपचारका लागि नेपालगञ्ज पुर्यााएको छ ।
घटनालगत्तै स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । “ग्यास लिक भएर अचानक आगलागी भएको जानकारी प्राप्त भएको छ, घाइतेहरूलाई समयमै अस्पताल पुर्याउन सेनाको हेलिकोप्टर परिचालन गरियो,“ प्रशासकीय अधिकृत शाहीले बताए ।
पछिल्लो समय जाजरकोट लगायतका क्षेत्रमा ग्यास प्रयोगकर्ता बढ्दै गए पनि सुरक्षा सावधानीको अभावमा यस्ता दुर्घटनाहरू दोहोरिने गरेका छन् ।