नवलपुर । नवलपुरका विभिन्न क्षेत्रमा रहेका उद्योगहरूबाट निस्कने दूषित पानीका कारण विश्वकै दुर्लभ एकसिंगे गैँडा लगायतका वन्यजन्तुहरू धमाधम मर्ने क्रम बढेको भन्दै स्थानीयहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
नवलपुर क्षेत्रका युवाको टोलीले आइतबार गृहमन्त्री सुधन गुरुङलाई भेटेर यस विषयमा स्थलगत जानकारी गराउँदै ध्यानाकर्षण पत्र बुझाएको छ ।
स्थानीयका अनुसार औद्योगिक क्षेत्रबाट निस्कने रसायनयुक्त दूषित पानी सिधै प्राकृतिक खोलाहरूमा मिसाइएको छ । सोही पानी पिउँदा र खोलामा बस्दा वन्यजन्तुहरूको स्वास्थ्यमा गम्भीर असर परी मृत्यु हुने गरेको दाबी ज्ञापनपत्रमा गरिएको छ ।
ज्ञापनपत्र बुझ्नुअघि गृहमन्त्री सुधन गुरुङले नवलपुरको प्रभावित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन समेत गरेका थिए । अवलोकनका क्रममा मन्त्री गुरुङले वन्यजन्तुको संरक्षण र वातावरण स्वच्छतामा कुनै सम्झौता नगरिने बताए ।
“विकासका नाममा पर्यावरण र वन्यजन्तुको अस्तित्व नै खतरामा पार्ने गरी सञ्चालित उद्योगहरूलाई कानुनको दायरामा ल्याइनेछ,“ मन्त्री गुरुङले भने । उनले यसबारे थप अनुसन्धान गरी आवश्यक कदम चाल्न स्थानीय प्रशासनलाई निर्देशन समेत दिए ।
