काठमाडौँ । धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।
देशको यातायात पूर्वाधारमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको यस परियोजना बहुआयामिक महत्त्वको मानिन्छ । यस सुरुङमार्गको औपचारिक शिलान्यास २०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
परियोजनाको सुरुवाती लागत करिब २२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो, तर निर्माणका क्रममा भूगर्भीय समस्या, डिजाइन परिवर्तन र अन्य कारणले लागत बढ्दै २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।यसको निर्माणको जिम्मा जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा जापानी कम्पनी हाजमा–आन्दो जेभीले पाएको थियो ।
प्रारम्भिक रूपमा यो परियोजना करिब ४२ महिनाभित्र (२०७८/८० सम्म) सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, विभिन्न प्राविधिक र भौगोलिक समस्याका कारण समय लम्बिँदै २०८२ सालसम्म आइपुग्दा निर्माण कार्य सम्पन्न भएको छ । हाल धादिङ क्षेत्रमा पहिरो नियन्त्रण र टोल गेट निर्माणको काम भइरहेको छ ।नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको ठेक्का भने चिनियाँ कम्पनी संलग्न ज्वाइन्ट भेन्चर युक्सिन–एआरटीले पाइसकेको छ ।
सडक विभागअन्तर्गतको परियोजना कार्यालयले सुरुङमार्ग सञ्चालनको ठेक्का पाँच वर्षका लागि युक्सिन–एआरटीलाई करसहित एक अर्ब १० करोड ४० लाख ३७ हजार रुपैयाँमा दिएको हो ।
यसका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङमार्गमा चल्ने सवारीसाधनको शुल्क सार्वजनिक गरिसकेको छ ।
मन्त्रालयले राजपत्रमा सूचना जारी गरी मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुङ्गा सुरुङमार्ग खण्डमा चल्ने सवारीसाधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ ।
मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनिक गरिएको हो । जसअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ ।
मिनिबस, मिनी टिपर/ट्रकको प्रवेशका लागि ११५ र बाहिरिँदा ८० रुपैयाँ लाग्नेछ । बस, ट्रक (सिङ्गल रियर एक्सल) प्रतिसवारीसाधन प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तोकिएको छ । मल्टि एक्सल ट्रक/सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ तोकिएको छ ।