काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ’जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका प्रहरी कार्यालयहरूको मर्मत तथा पुनःसंभारमा महत्वपूर्ण योगदान पु¥याउने रोटरी प्रेसिडेन्ट एक्सन ग्रुपका पदाधिकारीहरूलाई सम्मान गरेको छ। शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच महानिरीक्षक कार्कीले रोटरीका पदाधिकारीहरूलाई कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । गत भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा काठमाडौं र ललितपुरका ९ वटा प्रहरी कार्यालय भवनहरूमा क्षति पुगेको थियो, जसको पुनःनिर्माणमा रोटरीले निस्वार्थ र सह्रानीय सहयोग पु¥याएको थियो। सोही अवसरमा महानिरीक्षक कार्कीले कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले रोटरी क्लबले समाजका विभिन्न क्षेत्रमा गरेको योगदानको प्रशंसा गरेका थिए । उनले प्रहरी कार्यालयहरूको मर्मतमा प्राप्त सहयोगले प्रहरी कर्मचारीहरूलाई थप मनोबल प्राप्त हुने र जनसेवामा समर्पित हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए । प्रहरी पेशालाई स्वार्थरहित सेवाको रूपमा व्याख्या गर्दै उनले नागरिकका समस्यालाई धैर्यतापूर्वक सम्बोधन गरी विभेदरहित सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरू दत्तचित्त हुनुपर्नेमा जोड दिए । साथै, आपराधिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याएर अपराधमुक्त र शान्त समाज निर्माण गर्न नागरिकको साथ र सहयोग निरन्तर आवश्यक रहने उनको भनाइ थियो।