काठमाडौं । कतार सरकारले मुस्लिम समुदायको पवित्र महिना रमदानको अवसर पारेर तीन जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ। कतारका अमीर (राजा) बाट हरेक वर्ष विशेष पर्वहरूको अवसरमा प्रदान गरिने परम्परागत माफी अन्तर्गत यसपटक तीन नेपाली पनि समावेश भएका हुन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार कतारी अमीरले मानवीय आधारमा उनीहरूलाई सजाय मुक्त गर्ने निर्णय गरेका हुन्।
नेपाल सरकारले कतारको यो कदमको स्वागत गर्दै धन्यवाद व्यक्त गरेको छ। लामो समयदेखि नेपाल र कतारबीच सुमधुर कुटनीतिक सम्बन्ध रहिआएको छ। यस आममाफीले दुई देशबीचको मित्रता र आपसी सहयोगलाई थप प्रगाढ बनाउने विश्वास परराष्ट्र मन्त्रालयले लिएको छ।
कतारले यसअघि पनि विभिन्न चाडपर्व तथा विशेष अवसरहरूमा जेल जीवन बिताइरहेका नेपालीहरूलाई आममाफी दिँदै आएको थियो।