काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ प्रक्रिया कानुन र सामान्य प्रक्रियाविपरीत भएको टिप्पणी गरेका छन्।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकका क्रममा बोल्दै उनले सरकार राजनीतिक प्रतिशोधका आधारमा अघि बढे पार्टीले दृढ रूपमा प्रतिकार गर्ने चेतावनी दिए। खनालले भने, “राजनीतिक प्रतिशोध लिने ढङ्गले कुनै पनि कारबाही गरिन्छ भने हाम्रो पार्टीले दृढतापूर्वक प्रतिकार गर्छ। केपी ओली र रमेश लेखकको पक्राउ प्रक्रिया विधि, सामान्य प्रक्रिया र कानुनविपरीत गरिएको हो।”त्यस्तै उनले सम्पत्ति छानबिनका लागि आफ्नो पार्टी पूर्ण रूपमा तयार रहेको भन्दै सबै नेताहरूको छानबिन हुनुपर्ने धारणा राखे।
उनले २०४६ सालपछि मात्र नभई २००७ सालदेखिकै सम्पत्तिको छानबिन हुनुपर्ने माग पनि गरे। खनालले गलत ढङ्गबाट सम्पत्ति आर्जन गर्ने जो–कोहीमाथि छानबिन हुनुपर्ने भन्दै सरकार पक्षपातपूर्ण रूपमा अघि नबढ्नुपर्ने बताए। यता, नेता देवेन्द्र पौडेलले पुराना राजनीतिक दलहरूले केही नगरी यहाँसम्म आइपुगेको भन्ने धारणा गलत भएको टिप्पणी गरे। उनले संविधान निर्माण, व्यवस्था परिवर्तन र सुशासनका क्षेत्रमा पुराना दलहरूको भूमिका रहेको उल्लेख गर्दै हिजो पनि ठूला नेताहरू गल्ती गर्दा कानुनी कारबाही भएको उदाहरण रहेको बताए। पौडेलले अहिले नै पुराना र नयाँ दलबीच तुलना गरेर निष्कर्ष निकाल्ने समय नभएको धारणा व्यक्त गरे।