काठमाडौँ । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीको घरमा डोजर चलेको छ । इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले पूर्व–पश्चिम लोकमार्गको सडकपेटी खाली अभियान अन्तर्गत मन्त्रीकै घर अगाडिबाट डोजर चलाएर सडकपेटी खाली गराउने अभियान सुरु गरिएको हो ।
शुक्रबार बिहानमात्र मन्त्री मन्सुरीले आफ्नो घर अगाडि वर्षौदेखि टहरा बनाएर सडकपेटी अतिक्रमण गरेकालेले उनकै घर अगाडिबाट डोजर चलाएर सडकपेटी खाली गराउने अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ।
इनरुवा नगरपालिकाले पटक पटक ३५ दिने, १५ दिने, सात दिने र तीन दिने सूचना जारी गरेको भए पनि इनरूवाको अतिक्रमित सडकपेटीबाट घरटहरा नहटाई खाली नगरेकाले लोकमार्गको सडकपेटी खाली अभियान सुरु गरेको प्रमुख केदार भण्डारीले जानकारी दिए। पहिलो पटक आफ्नै घरको अगाडिको टहरामा डोजर चलेको विषयमा मन्त्री मन्सुरीले समयमा भत्काउन नसकेकाले आफ्नो घर अगाडिमा रहेको एउटा टहरा भत्काएको प्रतिक्रिया दिए । सबैलाई उनले सडकपेटी खाली गराउन आग्रह गरे ।