काठमाडौँ । आगामी वैशाख २५ गते मे ८ देखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘मालती मंगले’को आधिकारिक टिजर सार्वजनिक गरिएको छ।
गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको यस चलचित्रको टिजरले ग्रामीण परिवेशमा आधारित मार्मिक प्रेमकथाको झल्को दिएको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको टिजरले प्रेम, विश्वास र शङ्काका विभिन्न आयामलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ। टिजरमा मुख्य कलाकार विजय बराल र वर्षा राउतको भेटदेखि विवाहसम्मको यात्रा देखाइएको छ। एक दृश्यमा विजयले वर्षासँग प्रेमपूर्ण वाचा गर्दै “मेरो कारणले जुन दिन तिम्रो आँखामा आँसु आउँछ, त्यो दिन मंगले मरेसरह हुन्छ” भन्ने संवाद प्रस्तुत गरेका छन्।
तर विवाहपछिको सम्बन्ध भने सहज नदेखिएको टिजरले संकेत गर्छ। उत्तरार्धमा गाउँलेहरूको अगाडि विजयले वर्षालाई कुटपिट गर्दै “तैँले मलाई धोका दिइस्” भन्दै आक्रोश व्यक्त गरेको दृश्य समेटिएको छ। यसैबीच, वर्षा राउत (मालती) भावुक र आश्चर्यचकित मुद्रामा देखिएकी छन्। त्यसैगरी, अर्का कलाकार मेक्सम गौडेलले विजयसँगको द्वन्द्वात्मक संवाद प्रस्तुत गर्दै कथामा थप तनाव सिर्जना हुने संकेत दिएका छन्। यद्यपि टिजरको अन्त्यतिर केही रोमान्टिक दृश्यहरू पनि देखाइएको छ। प्रकु पाण्डेयको निर्देशनमा बनेको यस चलचित्र रानी फिल्म्सको ब्यानर तथा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो। कथा निर्देशक स्वयं पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्।
यसअघि चलचित्रका दुई गीत ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक भइसकेका छन्। निर्माता रामकृष्ण ढकालका अनुसार यो चलचित्र राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीतिनाटकमा आधारित नभई समकालीन नेपाली समाजमा आधारित फरक साङ्गीतिक प्रेमकथा हो। चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेलसहित नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ। यसका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह–निर्माताहरूमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन्। प्राविधिक पक्षमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन तथा डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ। गीतहरूमा हर्क साउदको शब्द, एसडी योगीको सङ्गीत र रिकेश गुरुङको एरेन्ज रहेको छ भने भिडियोको कोरियोग्राफी रोशन बिकले गरेका छन्। चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ।