काठमडौँ। भक्तपुरमा हरेक वर्ष मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा आज (शुक्रबार)बाट औपचारिक रूपमा सुरु भएको छ। आठ दिन नौ रातसम्म चल्ने यो जात्रा धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ।
जात्राको पहिलो दिन साँझ पाँचतल्ले मन्दिर अगाडिको तौमडी क्षेत्रबाट भद्रकालीको रथ घट्खा टोलतर्फ लगिने कार्यक्रम रहेको छ। साथै, भैरवनाथको रथ ‘भैलखः’ तानातान गर्दै जात्राको सुरुवात गरिन्छ। अबका दिनहरूमा भक्तपुर शहर पूरै जात्राको रौनकमा डुब्नेछ। परम्पराअनुसार काठबाट बनाइएको प्यागोडा शैलीको तीनतले भैलखःमा भैरवनाथ र बेताल देवतालाई राखेर थने (माथिल्लो) र क्वने (तल्लो) टोलका बासिन्दाले आ–आफ्नो दिशातर्फ तान्ने चलन छ। रथ तान्नु अघि त्यसमा खड्ग, तरवार र निशान राख्ने परम्परा रहेको छ। जात्राको मुख्य आकर्षण यही रथ तानातान हो, जहाँ दुई टोलबीच प्रतिस्पर्धात्मक माहोल सिर्जना हुन्छ।
पहिलो दिन पाँचतल्ले मन्दिर प्रांगणबाट भैलखःलाई अगाडि पाँच र पछाडि चार डोरी प्रयोग गरी तानिन्छ। यस दिन ‘देव कोहन बिज्यगु’ मनाउने गरिन्छ, जसमा भैरव र भद्रकालीलाई रथमा विराजमान गराई शहरको तल्लो भागतर्फ लगिन्छ। तौमडी स्क्वायरबाट सुरु हुने यो रथयात्रा भक्तपुरको सांस्कृतिक पहिचानको महत्वपूर्ण प्रतीक हो। बिस्का जात्रा विशेषगरी नयाँ वर्षको आगमनसँग जोडिएको उत्सव भएकाले यसले स्थानीय इतिहास, परम्परा र संस्कृतिको झल्को दिन्छ।