काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक सर्वसाधारणले प्रयोग गर्न सक्ने स्वचालित बाह्य डिफिब्रिलेटर (एइडी) स्थापना गरिएको छ।
अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रभित्र राखिएको यो जीवनरक्षक उपकरण आपतकालीन स्वास्थ्य सेवा सुधारका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यो कार्य हाप्सा नेपाल र विमानस्थल प्रशासनको सहकार्यमा सम्पन्न भएको हो। मुटुको धड्कन अचानक बन्द हुने अवस्था, जसलाई सडन कार्डियाक अरेस्ट भनिन्छ, विश्वभर मृत्युको प्रमुख कारणमध्ये एक हो। नेपालमा अस्पताल बाहिर हुने यस्ता घटनामा बच्ने सम्भावना निकै न्यून रहेको अनुमान छ। विशेषज्ञहरूका अनुसार समयमै चिन्ने र तुरुन्त उपचार नपाउनु यसको मुख्य कारण हो। एइडी एक सजिलो तर प्रभावकारी उपकरण हो, जसले हृदयको असामान्य धड्कनलाई विद्युतीय झट्कामार्फत पुनः सामान्य अवस्थामा ल्याउन मद्दत गर्छ। यसलाई स्वास्थ्यकर्मी मात्र नभई सामान्य नागरिकले पनि सहज रूपमा प्रयोग गर्न सक्छन्। विमानस्थलमा जडान गरिएको एइडीमा स्पष्ट प्रयोग विधि र क्यूआर कोड समावेश गरिएको छ, जसको माध्यमबाट आपतकालीन अवस्थामा प्रयोग गर्ने तरिका भिडियोमार्फत तुरुन्तै सिक्न सकिन्छ।
यो पहल हाप्सा नेपालको “नेपाल लाइफ सेभर्स” कार्यक्रम अन्तर्गतको दीर्घकालीन अभियानको एक हिस्सा हो। कार्यक्रममार्फत देशभर जीवनरक्षक सीप भएका समुदाय निर्माण गर्ने लक्ष्य राखिएको छ। अभियानअन्तर्गत हालसम्म सशस्त्र प्रहरी बलका २ हजारभन्दा बढी सुरक्षाकर्मीलाई सिपीआर तालिम दिइसकिएको छ भने विद्यालय तहमा पनि यस्तो तालिम सुरु गरिएको छ। साथै, जीवनरक्षक सीपलाई औपचारिक शिक्षामा समेट्ने उद्देश्यले शिक्षा मन्त्रालयसँग सहकार्य भइरहेको छ। यसका साथै सर्वसाधारणका लागि मोबाइल एप र सिपीआर सिकाउने शैक्षिक सामग्रीसमेत तयार पारिएको छ। डा. रामु खरेलका अनुसार यो पहल केवल उपकरण जडान मात्र नभई अस्पताल पुग्नुअघि नै जीवन बचाउन सक्ने प्रणाली विकासतर्फको महत्वपूर्ण प्रयास हो। त्यस्तै, सिपीआर कार्यक्रम प्रमुख डा. कमल थापाले प्रारम्भिक उपचारको ज्ञान र व्यापक तालिमको आवश्यकता औँल्याएका छन्। हाप्सा नेपालले आगामी दिनमा विभिन्न राष्ट्रिय साझेदारहरूसँग मिलेर देशभर एइडीको पहुँच विस्तार गर्दै तालिम कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजना बनाएको जनाएको छ।