काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग निर्माण प्रक्रियाले गति लिएको छ। राजमार्गको पूर्वी खण्ड विस्तारका क्रममा सडक क्षेत्रभित्र पर्ने १३ हजार ८ सयभन्दा बढी रुखहरू काटिएका छन्।
मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका अनुसार, सुनसरी, मोरङ, झापा र इलामका सामुदायिक तथा सरकारी वन क्षेत्रमा पर्ने कूल १३ हजार ८३४ रुख कटान गर्ने कार्य सम्पन्न भएको हो। सडकको भोगाधिकारका लागि आवश्यक ५०.८४३ हेक्टर क्षेत्रफलमा रहेका रुखहरू हटाइएको योजना कार्यालयकी इञ्जिनियर स्वस्तिका भट्टराईले जानकारी दिइन्।
सडक आयोजनाका अनुसार सबैभन्दा बढी रुख सुनसरी जिल्लामा काटिएका छन्। सुनसरीमा ५ हजार ५००, इलाममा ३ हजार ३६६, झापामा २ हजार ८०५ र मोरङः २ हजार १६३ रुख काटिएको आयोजनाले जनाएको छ ।
सडक रेखाङ्कनभित्रका रुख काटिएसँगै अहिले ती रुखहरूको नम्बरिङ र घाटगद्दी गर्ने कार्यलाई प्राथमिकता दिइएको छ। मोरङ जिल्लामा घाटगद्दीको काम सकिए पनि सम्बन्धित डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्ने प्रक्रिया बाँकी रहेको इञ्जिनियर भट्टराईले बताइन्।
हाल सुनसरीको झण्डा चोकदेखि झापाको बाहुनडाँगीस्थित पाटापुरसम्मको १३५.२९ किलोमिटर सडकखण्ड निर्माणाधीन अवस्थामा छ। रुख कटानको अवरोध हटेसँगै सडक विस्तारको कामले थप गति लिने अपेक्षा गरिएको छ।