काठमाडौँ । सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत सवारी साधनले तिर्नुपर्ने दस्तुर दर आधिकारिक रूपमा सार्वजनिक गरेको छ। २०८२ साउन २६ गते नै तय भएको यो दरलाई सरकारले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै जनसमक्ष ल्याएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट बाहिरिने सवारीका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ।
सरकारले सवारी साधन अनुसारको शुल्क विवरण सार्वजनिक गरेको छ । जसमा हलुका सवारी साधन कार, भ्यान, पिकअप, ट्रयाक्टर र माइक्रोबसले काठमाडौं छिर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, मध्यम खालका सवारी साधन मिनीबस र मिनी ट्रक÷ट्रिपरका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र प्रस्थान गर्दा ८० रुपैयाँ दस्तुर तोकिएको जनाएको छ । ठूला बस र सिंगल रियर एक्सल भएका ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । त्यस्तै ठूला मल्टी एक्सल ट्रक तथा भारी उपकरणका हकमा काठमाडौं छिर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क कायम गरिएको छ।
यो सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा क्षेत्रको लामो जाम हट्ने र यात्रा छिटो तथा सुलभ हुने विश्वास लिइएको छ। काठमाडौं छिर्ने सवारीले बाहिरिने सवारीको तुलनामा केही बढी दस्तुर तिर्नुपर्ने गरी यो संरचना तयार पारिएको छ।