काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन निर्देशन दिएका छन्। भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित अधिकृत क्याडेट तालिमको ’आयुक्त पद प्रदान कवाज’ समारोहलाई सम्बोधन गर्दै उनले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त गरेका क्याडेटहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।
समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले नवआयुक्त अधिकृतहरूलाई मातृभूमि र जनताप्रति पूर्ण समर्पित भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरे। उनले सैनिक आचरण, ’चेन अफ कमान्ड’ र अनुशासनको कडा दायराभित्र रही सदैव आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा विशेष जोड दिए। फरक–फरक सामाजिक र भौगोलिक पृष्ठभूमिका जवानहरूको नेतृत्व गर्दै एक एकीकृत र सक्षम सैन्य टोली निर्माण गर्न यी नवआयुक्त अधिकृतहरू सफल हुने विश्वास समेत प्रधानमन्त्रीले व्यक्त गरे।
सो अवसरमा प्रधानमन्त्री शाहले तालिमका क्रममा उत्कृष्ट प्रदर्शन गर्ने अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक स्वरूप खुकुरी तथा छडी प्रदान गरेका थिए। प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहमा कुल १८३ जना अधिकृत क्याडेटहरूले भव्य आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए। कार्यक्रममा सेनाका उच्च पदस्थ अधिकारीहरू र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।