काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी रुबी कुमारी ठाकुरले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई भगवान् नै मान्ने बताएकी छन् ।
१८२ सिट भएको रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छन् । उपसभामुखमा उम्मेदवारी दिएपछि रुबीले आफूलाई सहयोग गर्ने सवैलाई धन्यवाद दिँदै भूमिकाअनुसारको जिम्मेवारी पुरा गर्न सक्षम रहेको बताइन्।
उनले मधेशको गाउँकी एउटी केटीलाई यति माथिसम्म ल्याइदिएकामा श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको प्रशंसा गरिन् । ‘म त मधेशको गाउँकी एउटी छोरी हुँ । यो उपलब्धि सबै मधेशका जनताको हो । मलाई चुन्ने सबैलाई म धन्यवाद दिन्छु’, उनले भनिन्, ‘मलाई धेरै खुसी लागेको छ। सबैप्रति म आभारी छु । मलाई केही कुरा थाहा थिएन ।’
उनले पार्टी अध्यक्ष हर्क साम्पाङलाई भगवान् नै ठान्ने बताईन् । ‘मैले यी सबै कुरा सोचेकै थिइनँ। म भुइँको मान्छेलाई यतिसम्म, यति माथिसम्म पुर्याइदिनु भयो’, उनले भनिन्, ‘यसका लागि म अध्यक्षसँग सधैँ ऋणी छु । यो जिम्मेवारीसम्म ल्याइदिनु भएकोमा म अध्यक्ष हर्क साम्पाङलाई भगवान् नै मान्छु ।’