काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न आकर्षक गन्तव्य मुलुक पठाइदिने र आकर्षक तलब दिलाउने प्रलोभनमा पारी लाखौँ रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो। प्क्राउ पर्नेमा बझाङ घर भई हाल ललितपुर महानगरपालिका–९ बस्दै आएका २१ वर्षका नरेन्द्र बहादुर धमेना त्यस्तै, कैलाली घर भई हाल ललितपुर, महालक्ष्मी नगरपालिका–४ बस्ने २७ वर्षीया दर्शना भण्डारी । रौतहट घर भई हाल भक्तपुर, मध्यपुर थिमी नगरपालिका–३ बस्ने राजु प्रसाद कुसवाहा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका व्यक्तिहरूले पीडितहरूबाट ठूलो रकम असुल गरी सम्पर्कविहीन भएका थिए
नरेन्द्र बहादुर धमेनाले ३ जना पीडितहरूलाई बुल्गेरिया पठाइदिने भन्दै बाट ४ लाख रूपैयाँ ठगी गरेको पाइएको छ। उनलाई काठमाडौं महानगरपालिका–१२ बाट मंगलबार पक्राउ गरिएको हो। त्यस्तै दर्शना भण्डारीले १ जना पीडितबाट ६ लाख रूपैयाँ लिएर ठगी गरेको आरोप छ। उनलाई ललितपुर, महालक्ष्मी नगरपालिका–४ बाट बुधबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अर्का एक जना राजु प्रसाद कुसवाहाले १ जना पीडितबाट ४५ लाख १६ हजार ८ सय ९१ रूपैयाँ ठगी गरेको उजुरी परेको छ। उनलाई काठमाडौं महानगरपालिका–१ बाट बुधबार पक्राउ गरिएको हो।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ। पछिल्लो समय वैदेशिक रोजगारीको नाममा ठगी हुने क्रम बढेकाले सचेत रहन प्रहरीले सर्वसाधारणमा आग्रह समेत गरेको छ।