काठमाडौँ । मुगु जिल्लामा पाइने विभिन्न जडीबुटीबाट तयार पारिएको वातशामक तेल अहिले निकै लोकप्रिय बन्दै गएको छ। स्थानीय उत्पादन भएको यो तेल शरीरका विभिन्न दुखाइ र रोगमा राहत दिने भएकाले प्रयोगकर्ताबीच विश्वास बढ्दै गएको छ।
छायाँनाथ रारा नगरपालिका–१३ रुगा गाउँका ५५ वर्षीय धनलाल लावड लामो समयदेखि जोर्नी, नसा र छालासम्बन्धी समस्याबाट पीडित थिए। जिल्ला अस्पताल तथा निजी मेडिकलमा लाखौं खर्च गर्दा पनि निको नभएपछि उनले आयुर्वेद स्वास्थ्य केन्द्र मुगुबाट उत्पादित वातशामक तेलको प्रयोग थाले। नियमित प्रयोगपछि अहिले लावड आफू धेरै हदसम्म निको भएको बताउँछन्। केन्द्रमा निःशुल्क फिजियोथेरापी, एक्युपञ्चर, खकार र रगत परीक्षणसहित औषधी सेवा उपलब्ध भएकाले बिरामीहरूका लागि सुविधा सहज भएको उनले बताए। यस्तै, शरीरका विभिन्न भागमा दुखाइ भोगिरहेका दानबहादुर शाहीले पनि सोही तेल प्रयोगपछि स्वास्थ्यमा उल्लेख्य सुधार अनुभव गरेका छन्। “पहिले हिँडडुल गर्न समेत कठिनाइ थियो, अहिले सहज भएको छ,” उनले भने।
पछिल्ला तीन वर्षदेखि जिल्लामा पाइने सिस्नु, रास्ना, चरिअमिलो, बेडु, तितेपाती, चुत्रो, सल्ला, भाङ्गो, धतुरो, तिल, तोरी, मेन्थल, कपुर लगायतका जडीबुटी प्रयोग गरी तेल उत्पादन भइरहेको छ। यो तेल ढाड, कम्मर, हाडजोर्नी र आमवातजस्ता समस्या समाधानमा प्रभावकारी मानिन्छ। चालु वर्षमा २ हजार ६० मिलिलिटरका बोतल उत्पादन भएको र तेल दुई वर्षसम्म प्रयोग गर्न सकिने बताइएको छ। तेलसँगै बासा चूर्ण, रास्ना चूर्ण र पाषाणभेद चूर्ण पनि उत्पादन भइरहेको छ। निम्मित्त कार्यालय प्रमुख लक्ष्मीप्रसाद पाण्डेका अनुसार, बजेट अभावका कारण अन्य औषधी उत्पादन विस्तार गर्न कठिनाइ भइरहेको छ। सरोकारवालाहरूको भनाइ अनुसार, कर्णाली प्रदेश र मुगुमा पाइने बहुमूल्य जडीबुटीको पहिचान गरी स्थानीय स्तरमै औषधी उद्योग सञ्चालन गर्न सकिए, स्थानीय आम्दानीमा वृद्धि हुने सम्भावना छ। यसका लागि राज्यका तीनै तहका सरकारले थप ध्यान दिन आवश्यक रहेको उल्लेख गरिएको छ।