काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकलाई केन्द्रबिन्दुमा राखेर उनीहरूका समस्या र गुनासोको उचित सम्बोधन गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत आयोजित निर्देशन सम्बोधनका क्रममा उनले सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राख्न जोड दिएका हुन।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कार्यालयहरूमा सेवाग्राहीलाई अल्मल्याउने वा प्रलोभन देखाउने बिचौलियाहरूलाई तत्काल कानुनी दायरामा ल्याउन निर्देशन दिए । उनले प्रहरी सेवालाई बिचौलिया रहित, पारदर्शी र छिटोछरितो बनाउनुपर्नेमा जोड दिए ।
कार्कीले प्रत्येक प्रहरी कार्यालयमा नागरिक सहजकर्ताको व्यवस्था गरी सेवाग्राहीलाई सरल रूपमा सेवा दिन र सेवाको प्रगति विवरण एसएमएसमार्फत जानकारी गराउन उहाँले निर्देशन दिएका हुन । त्यसका साथै उनले सीमा नाकामा हुने आपराधिक गतिविधि, गुण्डागर्दी, तस्करी र प्राकृतिक स्रोतको दोहन नियन्त्रणमा खरो रूपमा उत्रिन प्रहरीलाई निर्देशन दिइएको छ। उनले सम्भावित विपद्जन्य घटनामा जनधनको क्षति न्यूनीकरण गर्न विशेष सतर्कता अपनाउन र पूर्वअभ्यासहरूलाई प्राथमिकतामा राख्दै सधैँ तयारी अवस्थामा रहन कार्कीले आग्रह गरेका थिए ।
कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले समेत समसामयिक विषयमा निर्देशन दिएका थिए ।
भर्चुअल माध्यमबाट आयोजित उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र मातहतका मुद्दा चल्ने इकाइका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।