काठमाडौं । प्रतिनिधिसभा सदस्य निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधनले नेपालमा निम्त्याइरहेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । आज बसेको प्रतिनिधिसभा बैठकको सुन्ने समयमा बोल्दै सांसद डाँगीले भारतीय गाडीका कारण नेपाली यातायात क्षेत्र र नागरिकले भोग्नुपरेको सुरक्षा तथा आर्थिक जोखिमबारे आवाज उठाएकी छन् ।
विशेष गरी सीमावर्ती क्षेत्रमा भारतीय नम्बरका गाडीहरूले सडक दुर्घटना गराउँदा पीडितले क्षतिपूर्ति पाउन अत्यन्तै कठिन हुने गरेको उनले बताइन् । “भारतीय नम्बर प्लेटका गाडीले नेपालमा दुर्घटना गराएमा त्यसको कानुनी प्रक्रिया र क्षतिपूर्ति पाउन निकै मुस्किल हुने गरेको छ,“ डाँगीले बताइन, “यस विषयमा सरकारले ठोस नीति बनाएर काम गर्न ढिला भइसकेको छ।“
सांसद डाँगीले सरकारसँग राखेका माग
१. सीमा क्षेत्रमा कडा अनुगमनः सीमा नाकाबाट प्रवेश गर्ने भारतीय सवारी साधनहरूको उद्देश्य र अवस्थाबारे कडाइका साथ अनुगमन गरिनुपर्ने।
२. ’डे पास’को दुरुपयोग नियन्त्रणः एक दिने अनुमति (डे पास) लिएर नेपाल भित्रिने र हप्तौंसम्म व्यवसायिक रूपमा चल्ने प्रवृतिलाई तत्काल रोक्नुपर्ने।
३. नेपाली व्यवसायीको संरक्षणः सीमा क्षेत्रमा भारतीय गाडीको अनियन्त्रित चापका कारण संकटमा परेका नेपाली यातायात व्यवसायीहरूको हित र संरक्षण हुने गरी नीति ल्याउनुपर्ने।
सांसद डाँगीले भारतीय गाडीहरूको ’डे पास’ दुरुपयोगका कारण राज्यले राजस्व समेत गुमाइरहेको र नेपाली यातायात क्षेत्रमा असमान प्रतिस्पर्धा सिर्जना भएको उल्लेख गरे । उनले यस्ता सवारी साधनलाई व्यवस्थित नगरे सडक सुरक्षा र स्वदेशी लगानी दुवै जोखिममा पर्ने चेतावनी दिए ।