काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनाव र युद्धको परिस्थितिलाई मध्यनजर गर्दै इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षित र सतर्क रहन आग्रह गरेको छ । दूतावासले संयमता अपनाउन र आफू बसोबास गरिरहेकै ठाउँमा सतर्क एवं सुरक्षित रहन अनुरोध गरेको हो । ‘अत्यन्त जरुरी’ भन्दै आठ बुँदे सूचना जारी गर्दै दूतावासले सो आग्रह गरेको हो ।
नेपाली नागरिकहरूलाई इजरायल सरकारको होम फ्रन्ट कमाण्ड र अन्य आधिकारिक निकायहरूले जारी गरेका सूचना तथा निर्देशनहरू अनिवार्य रूपमा पालना गर्न भनिएको छ । विशेषगरी, मोबाइलमा अलर्ट म्यासेज आएमा वा साइरन बजेमा हेलचेक्र्याइँ नगरी तुरुन्तै नजिकैको सेल्टरमा जान दूतावासको सुझाव छ । साथै, आफ्नो राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र र बैंक कार्ड जस्ता महत्त्वपूर्ण कागजातहरू सधैं आफूसँगै राख्न पनि दूतावासले भनेको छ ।
सामाजिक सञ्जालमा युद्धसम्बन्धी भिडियोहरू अनावश्यक रूपमा शेयर नगर्न, घटनाक्रमको बारेमा नियमित जानकारी राख्न र आफ्ना साथीभाइ तथा परिवारसँग निरन्तर सम्पर्कमा रहन दूतावासको आग्रह छ । साथै आपतकालीन अवस्थामा नेपाली दूतावासको सहयोगका लागि द्वितीय सचिव कुमार बहादुर श्रेष्ठ र तृतीय सचिव सञ्ज कुमार शाहलाई मोबाइलमा सम्पर्क गर्न दूतावासले भनेको छ ।
