काठमाडौँ। इरान, अमेरिका र इजरायलबीच दुई हप्ते युद्धविरामको सहमति भएको खबर सार्वजनिक भएसँगै बुधबार बिहान एसियाली शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। क्षेत्रीय तनाव कम हुने संकेतसँगै लगानीकर्ताको विश्वास बढ्दा बजार उकालो लागेको हो।
जापानको निक्केई २२५ सूचकांक ५.२८ प्रतिशत (२,८२२.४४ अंक) ले बढेको छ भने दक्षिण कोरियाको कोस्पी ५.६१ प्रतिशत (३०८.११ अंक) ले उकालो लागेको छ। भारतको गिफ्ट निफ्टी ३ प्रतिशतभन्दा बढीले वृद्धि हुँदै २३ हजार ८४१ विन्दुमा पुगेको छ। यसैगरी हङकङको ह्याङ सेङ ३.०४ प्रतिशत र ताइवान वेटेड ३.७२ प्रतिशतले वृद्धि भएका छन्। युद्धविरामको प्रभाव ऊर्जा बजारमा पनि स्पष्ट देखिएको छ। ब्रेन्ट क्रुडको मूल्य १३।०४ प्रतिशतले घटेर प्रति ब्यारेल ९५.०२ डलरमा झरेको छ भने अमेरिकी कच्चा तेल १३.७६ प्रतिशतले घट्दै ९७.४१ डलरमा पुगेको छ। उता, सुरक्षित लगानीका रूपमा लिइने सुनको मूल्य भने २.१३ प्रतिशत (१००.४५ अंक) ले बढेको छ। यसबीच, इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको शान्ति प्रस्ताव स्वीकार गरेको बताइएको छ।
इरानले दुई हप्तासम्म हर्मुज जलमार्ग सुरक्षित रूपमा सञ्चालन गर्न दिने र सैन्य गतिविधि स्थगित गर्ने प्रतिबद्धता जनाएको छ। इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै इरानमाथि आक्रमण नभए आफूहरूले पनि सैन्य कारबाही रोक्ने स्पष्ट पारेका छन्। उनले शान्ति पहलमा सहयोग गरेकोमा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख असिम मुनिरप्रति आभार व्यक्त गरेका छन्। उनका अनुसार यो दुई हप्ते युद्धविरामले अमेरिका–इरानबीच थप संवादको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ। साथै, पाकिस्तानको इस्लामाबादमा सम्भावित शान्ति सम्मेलनको तयारीसमेत अघि बढ्न सक्ने संकेत गरिएको छ। यसअघि राष्ट्रपति ट्रम्पले इरानको प्रस्तावलाई वार्ताको आधार मान्दै सैन्य कारबाही रोक्ने घोषणा गरेका थिए। उनले अमेरिकाले आफ्ना अधिकांश रणनीतिक उद्देश्य हासिल गरिसकेको र अब दीर्घकालीन शान्तितर्फ अघि बढ्ने समय आएको बताएका छन्।