काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद आकृति अवस्थीले हालैको जेनजी आन्दोलनसँग सम्बन्धित हिंसात्मक घटनाबारे प्रतिनिधि सभाको शुन्य समयमा प्रश्न उठाएकी छन्।
विद्यालय पोसाकमा कुशासन र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका युवामाथि टाउकोमा गोली प्रहार गर्ने आदेश कुन राष्ट्रिय वा अन्तर्राष्ट्रिय कानुनले दिन्छ भन्ने उनले प्रश्न गरेकी हुन्। सांसद अवस्थीले नेपालको संविधान र विगतका जनआन्दोलनको स्मरण गर्दै ती आन्दोलन जनताद्वारा प्रेरित र राज्यव्यवस्था परिवर्तनका लागि भएको बताइन्। साथै उनले हालको जेनजी आन्दोलनलाई विदेशी प्रभाव वा बाह्य चलखेलसँग जोड्ने प्रयासप्रति आपत्ति जनाउँदै सरकारसँग सत्यता स्पष्ट गर्न माग गरिन्। उनले यो घटनाको प्रश्न मात्र नभई राज्यको जिम्मेवारी भएको पनि औँल्याइन्।