काठमाडौँ । नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले अटोमोबाइल तथा गतिशीलता क्षेत्र सुधारका लागि आवश्यक नीतिगत सुझाव अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष पेश गरेको छ। नाइमाकी अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको टोलीले अर्थ मन्त्रालयमा पुगेर मन्त्री वाग्लेसँग भेट गर्दै सुझावसहित बधाईसमेत ज्ञापन गरेको हो।
भेटका क्रममा नाइमाले अटोमोबाइल क्षेत्रका लागि स्थिर, पूर्वानुमानयोग्य र सरोकारवालासँगको सहकार्यमा आधारित नीति आवश्यक रहेको औँल्याएको छ। यस क्षेत्रलाई विलासिताभन्दा आवश्यकता रूपमा हेर्नुपर्ने धारणा राख्दै कर संरचनालाई सरल र सन्तुलित बनाउनुपर्नेमा जोड दिएको छ। साथै ८०–२० को अनुपातमार्फत वित्तीय पहुँच सहज बनाउनुपर्ने सुझाव पनि प्रस्तुत गरिएको छ। संस्थाले भन्सार क्लियरन्सपछि अडिटका क्रममा फरक–फरक व्याख्याका आधारमा बेरुजु उठ्ने प्रवृत्तिले व्यावसायिक वातावरणमा अनिश्चितता बढाएको उल्लेख गरेको छ। विद्युतीय र हाइब्रिड सवारी साधनको स्पष्ट वर्गीकरण गरी सबै प्रविधिमा समान कर व्यवहार लागू गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ।
नाइमाले भन्सार प्रक्रिया सहजीकरण, परीक्षण पूर्वाधार विस्तार, यातायात ऐनको पुनरावलोकन, डिजिटल प्रणालीको एकीकरण, सडक सुरक्षा तथा प्रदूषण नियन्त्रणजस्ता विषयमा समेत सुझाव दिएको छ। अर्थमन्त्री वाग्लेले प्रस्तुत सुझावहरू समयसापेक्ष र उपयोगी रहेको बताउँदै एकीकृत रूपमा यस्ता धारणा राखेकोमा नाइमाप्रति आभार व्यक्त गरे। उनले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रमा कर राजस्व, रोजगारी सिर्जना र यातायात व्यवस्थापनमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै यस क्षेत्रबाट उठ्ने राजस्वको एक अंश पुनः यही क्षेत्रको विकासमा लगानी गर्ने विषयमा सरकार सकारात्मक रहेको संकेत दिए।