काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर नम्बर ५५ अन्तर्गत सञ्चालनमा रहेको भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई तत्कालका लागि निलम्बन गरेको छ। सोमबार बसेको बोर्ड बैठकले अर्को निर्णय नभएसम्म कम्पनीको कारोबार रोक्का गर्दै स्पष्टीकरण माग्ने निर्णय गरेको जनाएको छ।
बोर्डका अनुसार हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर बिक्रीबाट प्राप्त रकम सम्बन्धित लगानीकर्तालाई नदिई सोही रकम प्रयोग गरी विवादास्पद व्यवसायी दीपक भट्टका लागि शेयर खरिद गरिएको आशंका गरिएको छ। यसबाहेक नियामक निर्देशन उल्लंघन र कानुनविपरीत गतिविधिमा संलग्न रहेको आरोपसमेत लगाइएको छ।
सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानबाट तेस्रो पक्षका खातामार्फत भुक्तानी गरी उधारोमा शेयर कारोबार गराइएको तथ्य खुलेको छ। यस प्रक्रियामा आवश्यक मार्जिन नलिइएको देखिएकाले वित्तीय जोखिम बढेको निष्कर्ष बोर्डले निकालेको छ। निलम्बनपछि कम्पनीले अर्को आदेश नआएसम्म शेयर किनबेच गर्न पाउने छैन। यस निर्णयले देशभरका धेरै लगानीकर्ताहरू प्रत्यक्ष रूपमा प्रभावित हुने भएका छन्।