काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेल विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आठौँ तहका अधिकृत पौडेलले पदीय मर्यादा विपरीत कार्य गरी अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेको छ । यसअघि नै पौडेल विरुद्ध रु. ६ करोड २६ लाख ९३ हजार १२९ रुपैयाँ८२ पैसा बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन छ ।उनले ऋण सापटीको झुटो कागज तयार गरी सम्पत्तिको स्रोत लुकाउने कार्य गरेको देखिएकाले थप रु. २ करोड ५८ लाख ६४ हजार ३२४ रुपैयाँ ५३ पैसा बिगो कायम गरिएको अख्तियारको आरोपपत्रमा उललेख गरेको छ । आरोपपत्रमा निजको खातामा रहेको रु. १ करोड ७० लाख १३ हजार ०५० रुपैयाँ ७७ पैसा जफत गर्न मागदाबी गरिएको छ ।
अनुसन्धानका क्रममा पौडेलले कारोबारको जालो प्रयोग गरेको भेटिएको छ । उनले कुनै ऋण नलिईकन विभिन्न व्यक्तिहरूबाट ऋण लिएको र फिर्ता गरेको नक्कली कागजात तथा बैंक कारोबार देखाएर अवैध धनलाई वैध बनाउने प्रयास गरेको अख्तियारको निष्कर्ष छ । उनी राष्ट्रसेवक कर्मचारी भएकाले सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम थप सजायको समेत माग गरिएको छ ।
अवैध सम्पत्ति लुकाउन र स्वामित्व परिवर्तन गर्न सहयोग पु¥याएको भन्दै अख्तियारले पौडेलकी श्रीमतीसहित अन्य चार जनालाई समेत प्रतिवादी बनाएको छ । उनीहरूलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय माग गरिएको छ। जसमा उनको श्रीमतिसमेतलाई मतियार बनाइएको छ ।
अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार, भ्रष्टाचारजन्य कार्यबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदापाउँदै उनीहरूले कारोबार लुकाउन सहयोग गरेको देखिएकाले आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।