काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत र नापी कार्यालयमा अनधिकृत व्यक्तिहरू (बिचौलिया) प्रवेश गर्न नपाउने निर्देश जारी गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्री प्रतिभा रावलको निर्देशन अनुसार सचिवस्तरीय निर्णयमार्फत जारी पत्राचारमा कार्यालयमा प्रवेश गर्दा अब पहिचान देखाउने कागजात भएका व्यक्ति मात्र अनुमति पाउने व्यवस्था गरिएको छ। मन्त्रालयका अनुसार विगतमा विभिन्न बहानामा बिचौलियाले कार्यालयमा प्रवेश गरी महत्त्वपूर्ण कागजात र स्रोतमा पहुँच राख्ने समस्या आएको थियो। यसकारण अब गोप्य र संवेदनशील कागजातहरूको सुरक्षामा ध्यान दिँदै, अनधिकृत व्यक्तिको प्रवेश रोक्न यस्तो कदम चालिएको हो। निर्देशनमा भनिएको छ–कार्यालयमा भिडभाड र कागजातको सुरक्षा सुनिश्चित नगरेमा कार्यालय प्रमुख जिम्मेवार हुनेछन्। यस निर्णयपछि सेवाग्राहीहरूले अब आफ्नो निवेदन र कागजात देखाएर सहज रूपमा सेवा पाउन सक्नेछन्।