काठमाडौँ। पोखराको फेवाताल किनारको जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरुङ आफैं ठगिएको खुलासा भएको छ। भ्रष्टाचार र अपराधविरुद्ध कडाइका साथ अभियान चलाइरहेका गुरुङ यस प्रकरणमा भने लिजमा लिएको जग्गासम्बन्धी विवादमा परेका हुन्।
सर्वोच्च अदालतको आदेशअनुसार फेवाताल अतिक्रमण हटाउने अभियानमा पोखरा महानगरपालिकासँग समन्वय गरिरहेका गुरुङले लिजमा लिएको जग्गासमेत मापदण्डभित्र पर्ने अतिक्रमित क्षेत्रमै रहेको पाइएको हो। जग्गा लिँदा सम्बन्धित धनीले वास्तविक अवस्था लुकाएर भ्रामक जानकारी दिई ठगेको आरोप लगाउँदै मन्त्री गुरुङसहित उनका तीन साझेदार कानुनी उपचारको प्रक्रियामा जाने तयारीमा छन्। करिब ८–१० वर्षअघि पोखराको फेवाताल किनारमा साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित गुरुङ र अन्य युवा उद्यमीहरूले ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने योजना अघि बढाएका थिए।
तर, जग्गा लिँदा ६५ मिटर मापदण्डभित्र नपर्ने भन्दै दिएको जानकारी पछि गलत सावित भएको गुरुङको भनाइ छ। हामीलाई जग्गा सुरक्षित रहेको भन्दै विश्वास दिलाइएको थियो। तर पछि बुझ्दा सो जग्गा मापदण्डभित्र पर्ने रहेछ,’ गुरुङले बताए। ठगीको तथ्य थाहा पाएलगत्तै आफूहरूले सबै निर्माण कार्य र लगानी रोकिएको पनि उनले स्पष्ट पारे। ‘हामीलाई झुक्याएर जग्गा भाडामा दिइएको थाहा पाएपछि नैतिकताका आधारमा काम रोक्यौं,’ उनले भने। मन्त्री गुरुङले आफूहरू माथि भएको ठगीविरुद्ध कडा कानुनी कदम चाल्ने तयारीमा रहेको बताएका छन्। ‘यो अन्यायविरुद्ध कानुनी उपचारका लागि अब हामी दृढताका साथ अघि बढ्नेछौं,’ उनले बताए।