काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको राजीनामा स्वीकृत भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले झाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
वरिष्ठ पत्रकार झाले गत चैत १६ गते नै सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमक्ष आफ्नो राजीनामा बुझाएका थिए । देशको परिवर्तित राजनीतिक परिवेशलाई आत्मसात् गर्दै नयाँ सरकारलाई आफ्नो कार्य सञ्चालनमा सहज होस् भन्ने उद्देश्यले ’नैतिकताका आधारमा’ मार्गप्रशस्त गरेको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
नेपाल सरकार (मन्त्रिपरिषद्को निर्णय) बाट २०७९ असार ७ गते राससको कार्यकारी अध्यक्षमा नियुक्त भएका झाको कार्यकालमा राससको सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ । उनले आफ्नो राजीनामा पत्रमा विगतमा आफूलाई विश्वास गरी जिम्मेवारी सुम्पिने नेपाल सरकार र सहयोग गर्ने सञ्चार मन्त्रालय एवं राससकर्मीहरूप्रति आभार समेत प्रकट गरेका छन् ।
झाको राजीनामा स्वीकृत भएसँगै अब राससको नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने देखिएको छ ।