काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठूलो संख्यामा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरूको काज फिर्ता गरेको छ। मन्त्रालयले नवौँ र दशौँ तहका ३३ जना विशेषज्ञ चिकित्सकहरूलाई उनीहरूको वास्तविक दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाउने निर्णय गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले प्रशासनिक सुधारको दोस्रो चरण अन्तर्गत स्वास्थ्य सेवातर्फका अधिकृत आठौँ, नवौँ र दशौँ तहका कर्मचारीहरूलाई सम्बन्धित दरबन्दीमै फिर्ता पठाउने निर्णय गरेकी हुन्।
लामो समयदेखि एक ठाउँमा दरबन्दी राखेर पहुँचका आधारमा अन्यत्र काजमा कार्यरत रहँदा दुर्गम क्षेत्रका अस्पतालहरू विशेषज्ञ सेवाबाट वञ्चित हुँदै आएका थिए। मन्त्रालयले यो प्रवृत्तिलाई अन्त्य गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकहरूलाई उनीहरूको दरबन्दी भएकै स्थानमा खटाएको हो।
मन्त्रालयका अनुसार काज फिर्ता गरिएका सबै कर्मचारीले तत्काल आफ्नो दरबन्दी रहेको अस्पतालमा हाजिर भई सेवा सुचारु गर्नुपर्नेछ। यसअघि पनि मन्त्रालयले पहिलो चरणमा विभिन्न तहका कर्मचारीहरूको काज फिर्ता गरिसकेको छ।