काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन औपचारिक रूपमा ’गुनासो व्यवस्थापन केन्द्र’ सञ्चालनमा ल्याएको छ। मन्त्रालयबाट सम्पादन हुने कार्य, सेवाको प्रक्रिया र नतिजाका सम्बन्धमा सेवाग्राहीका गुनासाहरूलाई ढिलासुस्ती नगरी तत्काल सम्बोधन गर्ने उद्देश्यले यो केन्द्र स्थापना गरिएको हो।
मन्त्रालयद्वारा जारी सूचनाअनुसार, अब नागरिकले मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित कुनै पनि समस्या वा चित्त नबुझेका कुराहरू सिधै केन्द्रमा दर्ता गराउन सक्नेछन्। गुनासो व्यवस्थापनको जिम्मेवारी उपसचिव विवेक घिमिरेको नेतृत्वमा तोकिएको छ। सेवाग्राहीको सहजताका लागि मन्त्रालयले डिजिटल माध्यमहरूलाई प्राथमिकता दिएको छ।
प्रत्यक्ष सम्पर्क (फोन)ः ९८५११०२०८६ (विवेक घिमिरे, केन्द्र प्रमुख) डिजिटल माध्यमः ९८५१२७७२११ र ९८५१२७७२१० मा ह्वाटसप वा भाईबर मार्फत पनि गुनासो टिपाउन सकिने मन्त्रालयले जनाएको छ।
प्राप्त भएका गुनासाहरूलाई केन्द्रले संकलन र वर्गीकरण गरी सम्बन्धित अधिकारीमार्फत सम्बोधन गराउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
