काठमाडौँ। हेटौँडा सिमेन्ट उद्योग परिसरमा झाडी सरसफाइ अभियान सञ्चालन गरिएको छ। उद्योग क्षेत्रलाई स्वच्छ, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले गरिएको यस अभियानमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित विभिन्न निकायका प्रतिनिधि र अभियानकर्मीहरूले सक्रिय सहभागिता जनाए।
अभियानअन्तर्गत उद्योग परिसरभित्र फैलिएको झाडी, घाँस र अन्य अव्यवस्थित वनस्पति हटाइएका थिए। यसले उद्योग क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्नुका साथै आगलागी र अन्य सम्भावित जोखिम न्यूनीकरणमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले हेटौँडा सिमेन्ट उद्योगलाई पुनः सशक्त र प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने दिशामा सरकार प्रतिबद्ध रहेको बताए।
उनले यस उद्योगलाई चाँडै उत्कृष्ट उत्पादन दिने उद्योगका रूपमा स्थापित गर्ने लक्ष्य रहेको पनि स्पष्ट पारे। साथै, उद्योग सञ्चालनलाई दिगो, पारदर्शी र प्रतिस्पर्धी बनाउन आवश्यक सुधारका काम अगाडि बढाइने र उद्योग परिसरको नियमित सरसफाइ तथा व्यवस्थापनमा सबै सरोकारवालाको सहकार्य अपरिहार्य हुने उनको भनाइ थियो। स्थानीयवासी र सरोकारवालाहरूले पनि सरसफाइ अभियानले उद्योगप्रति सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै यस्ता गतिविधिलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका छन्।