काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष शालीग्राम सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा ५० थान पोर्टेबल शौचालय खरिद गर्दा सार्वजनिक खरिद ऐन विपरीत कार्य गरी भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
बिना प्रतिस्पर्धा ५० थान पोर्टेबल शौचालय खरिद गर्दा प्रतिस्पर्धा बिना नै सोझै ईशिता ट्रेडर्सबाट खरिद गरिएको अख्तियारको आरोपपत्रमा उल्लेख गरिएको छ । प्रज्ञापन पत्र अनुसार करिब ४२ लाख १६ हजार ५ सय मूल्य पर्ने सामानलाई अस्वाभाविक रूपमा ५४ लाख ९९ हजार ९९९ रुपैयाँमा खरिद सम्झौता गरिएको आयोगले जनाएको छ
आयोगले देहायका व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै बिगो ५४ लाख ९९ हजार ९९९ रुपैयाँ कायम गरी सजायको मागदाबी गरेको छ । जसमा तत्कालीन अध्यक्ष शालीग्राम सिंह, तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर, तत्कालीन प्रशासकीय अधिकृत चिरंजिविराज शर्मा ढुङ्गाना, तत्कालीन लेखापाल सावित्री कुमारी गिरी, प्रोपाइटर (ईशिता ट्रेडर्स) पशुपति नाथ पाठकका बिरुद्ध अख्तियारले मुद्धा दायर गरेको हो ।
अख्तियारले प्रतिवादीहरूबाट बिगो असुल गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफाहरू बमोजिम कैद र जरिवाना गर्न माग गरेको छ । विशेषगरी तत्कालीन अध्यक्ष सिंहको हकमा सार्वजनिक पदमा रहेको हुनाले थप सजायको समेत माग गरिएको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिएका छन् ।