काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगंजले आफ्नो ४२औं वार्षिकोत्सव आइतबार एक विशेष समारोहका बीच सम्पन्न गरेको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा अस्पतालको सेवा विस्तार र आधुनिकिकरणका क्षेत्रमा महत्वपूर्ण सुरुवात गरिएको छ।
अस्पताल पुग्ने सेवाग्राहीलाई आधुनिक प्रजनन स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नवनिर्मित आइभिएफ ल्याबको प्रहरी महानिरीक्षक कार्कीले उद्घाटन गरेका छन् । उद्घाटनपश्चात उनले ल्याबको अवलोकन गर्दै यसले प्रहरी कर्मचारी र उनीहरूका परिवारलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे।
मानसिक स्वास्थ्य उपचारलाई थप प्रभावकारी बनाउन महानिरीक्षक कार्कीले मनोचिकित्सा विभागका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तलाई इसिटी मेसिन हस्तान्तरण गरिएको हो । साथै अस्पतालका वर्षभरिका गतिविधि, उपलब्धि र स्वास्थ्यमूलक लेखहरू समेटिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण–२०८२’ को सो अवसरमा लोकार्पण गरिइको छ । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले “प्रहरीको कार्यशैली जोखिमपूर्ण र मानसिक तनावयुक्त हुने भएकाले अस्पतालले चिकित्सक र सेवाग्राहीबीच भावनात्मक सम्बन्ध विकास गर्दै आत्मीय व्यवहारका साथ सेवा प्रवाह गर्न जरुरी रहेको बताए ।
.अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउन प्रशासन सदैव प्रयासरत रहने बताएका छन् । कार्यक्रममा प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. सन्जय विक्रम श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए, भने प्राविधिक प्रहरी उपरीक्षक डा. समृद्धि कार्कीले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समारोहमा अवकाश प्राप्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू र विशिष्ट महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो।
