काठमाडौँ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन आपूर्तिमा सम्भावित समस्या देखिएको भन्दै सवारी साधनको प्रयोगमा सावधानी अपनाउन आग्रह गरेकी छन्।
आइतबार बसेको ४८औँ नगर कार्यपालिका बैठकमा उनले वर्तमान भूराजनीतिक परिस्थितिका कारण इन्धन अभावको संकेत देखिन थालेको बताइन्। त्यसैले इन्धनमा चल्ने सवारी साधनका लागि तोकिएको कोटा आधा घटाउन, सकेसम्म विद्युतीय सवारी साधन प्रयोग गर्न र अत्यावश्यक कामबाहेक सवारी प्रयोग नगर्न उनले सुझाव दिइन्। यसै क्रममा उनले महानगरका सबै विभागलाई आफ्ना कार्यक्रम र खर्चसम्बन्धी विवरण नियमित रूपमा बुझाउन पनि आग्रह गरिन्। बैठकमा काठमाडौंमा पार्किङ व्यवस्थापन सुधारका लागि कार्यदल गठन गरिएको जानकारी दिइयो। उक्त कार्यदलले अध्ययन गरेर आगामी बैठकमा प्रतिवेदन प्रस्तुत गर्नेछ। डंगोलले पार्किङ पूर्ण रूपमा निषेध गर्नुको सट्टा व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइन्।