काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुर्व प्रसाद सापकोटाविरुद्धको मुद्दामा आयोगले शुक्रबार पुनरावेदन दिएको हो ।
सापकोटाले आफूविरुद्ध कञ्चनपुरस्थित अख्तियारको कार्यालयमा चलिरहेको अनुसन्धानबाट उन्मुक्ति पाउन र मुद्दा मिलाउन अनुसन्धान अधिकृतलाई रु. १ लाख घुस दिएको आरोप छ । हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका सापकोटालाई भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको थियो ।
यसअघि विशेष अदालतले २०८२ वैशाख ४ गते फैसला सुनाउँदै सापकोटालाई आंशिक सफाइ दिएको थियो । विशेषको उक्त फैसला त्रुटीपूर्ण रहेको दाबी गर्दै आयोगले २०८२ चैत २० मा सर्वोच्चमा रिट दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।